३१ भदौ, पोखरा - न्यु डायमन्ड एकेडेमीले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चौथो नवआदर्श कप राष्ट्रिय महिला भ...
३१ भदौ, पोखरा - न्यु डायमन्ड एकेडेमीले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै चौथो नवआदर्श कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ।
बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनलमा न्यु डायमन्डले एपीएफलाई पाँच सेटमा हरायो। न्यु डायमन्डमा क्विक स्पाइकर ललिता नाथको कप्तानीमा ओपन स्पाइकर प्रतिभा माली, पनामिका राई, कृपा अधिकारी सेटर तथा लिब्रो सलिना श्रेष्ठ पहिलो रोजाइका खेलाडी थिए।
नियमित कप्तान रमिला तण्डुकार र क्विक स्पाइकर मनीषा तामाङको स्थानमा नयाँ खेलाडी क्विक स्पाइकर सबिता लो र समीक्षा घिमिरेलाई सेटमा उतारिएको जानकारी न्यु डायमन्डका प्रशिक्षक कुमार राईले दिए।
'टिम स्पिरिटले प्रतियोगिता जितिने हो, तथापि प्रभावशाली खेलाडीको अनुपस्थितिमा पनि उपाधिमा ह्याट्रिक गर्न सफल भयौं', प्रशिक्षक कुमारले भने।पोखराको लामाचौरमा भएको पहिलो सेट न्यु डायमन्डले २५-२३ ले जित्दै १-० अग्रता कायम गर्यो।
निकै रोमाञ्चक बनेको दोस्रो सेट न्यु डायमन्डले २५-१८ गुमाएसँगै खेल १-१ को बारबरीमा पुगेको थियो। तेस्रो सेट भने न्यु डायमन्डले २५-२३ अंकले कब्जा गर्दै खेलमा फर्कने राम्रो आशा सिर्जना गर्यो।
शारीरिक रूपमा निकै बलियो रहेको एपीएफले चौथो सेट २५-२२ जित्दै २-२ को बराबरीको अवस्थामा पुर्याएपछि खेल पाचौं सेटमा पुगेको थियो। निर्णायक सेट न्यु डायमन्डले १५-१० ले जित्दै उपाधिमा ह्याट्रिक गर्यो।
फाइनलमा निकै उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमन्डकी प्रतिभा माली प्रतियोगिताकै सर्वोउत्कृष्ट खेलाडी घोषित भइन्। आर्मीकी सृजना राई उत्कृष्ट लिब्रो, एपीएफकी बिनीता बुढाथोकी उत्कृष्ट सेटर, एपीएफकै सरस्वती बुढाथोकी उत्कृष्ट स्पाइकर, एपीएफकी रेसमा भण्डारी उत्कृष्ट सर्भर, पश्चिमाञ्चलकी पवित्रा बिसी उत्कृष्ट ब्लकर घोषित भए।
तेस्रो स्थानका लागि भएको खेलमा नेपाल आर्मीले क्लब पश्चिमाञ्चललाई ३-२ ले हरायो। प्रतियोगिताका विजेता टिमले ५० हजार एक सय, उपविजेताले ३० हजार एक सय, तेस्रोले १५ हजार एक सय र चौथो हुने टोलीले १० हजार एक सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

