१८ भदौ, एएफपी, न्युयोर्क- टेनिस इतिहास रच्ने क्रममा विश्व नम्बर एक सेरेना विलियम्सले खराब सुरुआतलाई पन्छाउँदै अगाडि बढेकी छन् । पुरु...
१८ भदौ, एएफपी, न्युयोर्क- टेनिस इतिहास रच्ने क्रममा विश्व नम्बर एक सेरेना विलियम्सले खराब सुरुआतलाई पन्छाउँदै अगाडि बढेकी छन् । पुरुषतर्फ नोभाक जोकोभिज र राफेल नाडल पनि यूएस ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
सन् १९८८ मा स्टेफी ग्राफपछि विलियम्स एकै सिजनमा सबै ४ ग्रान्डस्लाम जित्ने प्रयासमा छिन् ।
विलियम्सले बुधबार आर्थुर एस रंगशालामा ४४ अनावश्यक गल्ती र १० डबल फल्ट गरे पनि १ सय १० औं वरीयताकी किकी बेर्टेन्सलाई ७–६(७/५) र ६–३ ले पराजित गरिन् ।
‘मैले हरेक अंकका लागि संघर्ष गरिरहें, धेरै अंकका लागि होइन । एक पटकका लागि एक अंक बटुल्न नै खेलिरहें,’ विलियम्सले भनिन्, ‘म आरामदायी स्थितिमा थिएँ, आज केही हडबढाउन पुगें, जुन मेरो खेलमा देखियो । आशा छ म पुरानै स्थितिमा फर्किनेछु ।’
३३ वर्षे विलियम्सको अर्को लक्ष्य ग्राफले २२ ग्रान्डस्लाम जितेको कीर्तिमान बराबरी गर्नु पनि छ । २१ ग्रान्डस्लाम जितिसकेकी विलियम्स यूएस ओपन सातौंपटक जित्ने धुनमा छिन् । यस सिजनमा ५०–२ को जितसाथ अगाडि बढिरहेकी विलियम्सले ग्रान्ड स्लाममा लगातार ३० औं जित हात पारेकी छन् । उनले अब अमेरिकाकै बेथानी म्याटेक–स्यान्डससँग खेल्नेछिन् । स्यान्ड्सले अमेरिकाकै कोको भान्डेवघलाई ६–२, ६–१ ले पराजित गरिन् ।
आठौं वरीयताप्राप्त स्पेनका नाडलले अर्जेन्टिनाका डिएगो स्वार्टजमानलाई ७–६ (७/५), ६–३ र ७–५ ले पराजित गरे । १४ ग्रान्ड स्लाम जितिसकेका नाडलको यो आफ्नो खेलजीवनमा ७ सय ५० औं जित थियो ।
शीर्ष वरीयताका जोकोभिजले अस्ट्रियाका एन्ड्रज हेइडर माउरेरलाई ६–४, ६–१ र ६–२ ले हराए दुवैले विजयी क्रम जारी राखेमा नाडल र जोकोभिज क्वाटरफाइनलमा भिड्नेछन् ।

