२३ भदौ, एएफपी, न्युयोर्क - एन्डी मुरे सोमबार यूएस ओपनको चौथो चरणबाट बाहिरिएका छन् । पछिल्लो पाँच वर्षमा मुरे ग्रान्ड स्लाममा यति चाँडै ब...
२३ भदौ, एएफपी, न्युयोर्क - एन्डी मुरे सोमबार यूएस ओपनको चौथो चरणबाट बाहिरिएका छन् । पछिल्लो पाँच वर्षमा मुरे ग्रान्ड स्लाममा यति चाँडै बाहिरिएको यो पहिलोपल्ट हो ।
रोजर फेडेररको नियति भने फरक रह्यो र १७ ग्रान्ड स्लाम विजेता क्वाटरफाइनल पुग्न सफल रहे । दक्षिण अफ्रिकाका १५ औं वरीयता प्राप्त केभिन एन्डरसनले बेलायतका नम्बर ३ खेलाडी मुरेलाई ७–६ (७/५), ६–३, ६–७ (२/७) र ७–६ (७/०) ले हराए ।
सन् २०१० को यूएस ओपनयता मुरेको लगातार १८ ग्रान्ड स्लाममा क्वाटरफाइनल यात्राको क्रममा अब पूर्णविराम लागेको छ । ‘यो वास्तवमै निराशाजनक छ । लामो समयदेखि कायम राखेको खेलस्तर अहिले खस्किन्छ भने त्यो पीडादायी हुन्छ,’ मुरेले भने, ‘आजको खेल निकै प्रतिस्पर्धात्मक पनि रह्यो, चार घण्टा चल्यो । यस्तै खेल गुमाउन राम्रो होइन ।’
एन्डरसन भने यसअघिका सात चौथो चरणको हारपछि पहिलोपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल पुग्न सफल रहे । ‘आज मैले मेरो खेल जीवनकै सबैभन्दा महत्त्वपूर्ण खेल खेलें,’ एन्डरसनले भने, ‘यो खेल सधैं मेरो सम्झनामा रहनेछ ।’ उनले दुई साता अगाडि मात्र आफ्नो खेलजीवनको तेस्रो उपाधिका रूपमा विन्सटन सलेममा जितेका थिए ।
उनी सन् १९९२ यता न्युयोर्कमा क्वाटरफाइनल पुग्ने पहिलो दक्षिण अफ्रिकी पनि भएका छन् । यसअघि वायन फरेराले यस्तो उपलब्धि हात पारेका थिए । अब उनले रिचर्ड क्यास्क्वेटको सामना गर्नेछन् । फ्रान्सेली १२ औं वरीयता प्राप्त ग्याक्सक्वेटले चेक खेलाडी थोमस बर्दाचीको चुनौती २–६, ६–३, ६–४ र ६–१ ले हराए ।
एन्डरसनले अब फ्रेन्च ओपन विजेता स्टान वावरिन्काको सामना गर्नेछन् ।
वावरिन्काले डोनाल्ड यङलाई ६–४, १–६, ६–३ र ६–४ ले पराजित गरे । दोस्रो वरीयता प्राप्त फेडेरर छैटौं यूएस ओपन उपाधिको अभियानमा छ र यसको अझ नजिक पुग्न उनले अमेरिकाका १३ औं वरीयता प्राप्त जोन इस्नरलाई ७–६ (७/०), ७–६ (८/६) र ७–५ ले पराजित गरे । ‘आजको खेल जितेकोमा म भाग्यमानी रहें,’ फेडेररले भने ।
महिलातर्फ भने दोस्रो वरीयताकी सिमोन हलेपले दुईपल्टका विम्बल्डन विजेता पेट्रा केभिटोभालाई हराएर क्वाटरफाइनल यात्रा तय गरिन् । उनी दुई घण्टा ३८ मिनेट चलेको खेलमा ६७ (६/८), ७–५ र ६–२ ले विजयी रहिन् ।
सन् १९९७ यता २३ वर्षीया हलेप यूएस ओपनको अन्तिम आठ पुग्ने पहिलो रोमानियाली खेलाडी पनि बनेकी छन् । यसअघि यस्तै उपलब्धि इरिना स्पिलेले हात पारेकी थिइन् ।
यस्तै, बेलारुसकी भिक्टोरिया अजारेन्काले अमेरिकी खेलाडी भारभारा लेपचेन्कोलाई ६–३ र ६–४ ले पराजित गरिन् । चौथो चरणका अन्य खेलमा चेक गणतन्त्रकी पेट्रा केभिटोभाले बेलायतकी जोहनन कोन्टालाई ७–५ र ६–३ ले निराश पारिन् । यस्तै इटालीकी फ्लाभिया पेनेटाले अस्ट्रेलियाका समन्था सोस्टरको चुनौती ६–४ र ६–४ ले समाप्त पारिन् ।
