१८ भदौ, एएफपी , पेरिस - नेदरल्यान्ड्समाथि १–० को जित हात पारेपछि आइसल्यान्डले युरो २०१६ मा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । पराजय...
१८ भदौ, , पेरिस - नेदरल्यान्ड्समाथि १–० को जित हात पारेपछि आइसल्यान्डले युरो २०१६ मा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । पराजयपछि फ्रान्समा हुने प्रतियोगिताबाट नेदरल्यान्ड्सको बाहिरिने खतरा बढेको छ ।
गिल्फी सिगुरसनले ५१ औं मिनेटमा गरेको पेनाल्टी गोलमा आइसल्यान्डले महत्त्वपूर्ण जित हात पार्यो । समूह ‘ए’ मा आइसल्यान्डको ७ खेलबाट १८ अंक छ, जुन तेस्रो स्थानमा रहेको विश्वकपमा तेस्रो भएको नेदरल्यान्ड्सभन्दा ८ अंक बढी हो । तीन खेल खेल्न बाँकी रहेको अवस्थामा चेक गणतन्त्रको १६ अंक छ ।
आइसल्यान्डले अहिलेसम्म युरोपियन च्याम्पियनसिप खेल्न सकेको छैन् । तर आइतबार घरेलु मैदानमा हुने कजाकस्तानलाई पराजित गरेमा टिम पहिलो पटक युरोमा छनोट हुनेछ ।
धार समात्न नसकेका कारण नेदरल्यान्ड्सले यसअघि नै प्रशिक्षक गुस हिडिन्कलाई बर्खास्त गरिसकेको छ । उनको स्थानमा आएका ड्यानी ब्लिन्डले पनि आर्मस्टरडममा डच टिमको भाग्य फेर्न सकेनन् । जित्नै पर्ने खेलमा नेदरल्यान्ड्स उल्टो खेलको सातौं मिनेटमा नै पछाडि परिसकेको थियो । तर जोन डाडी बोडभारसनले राम्रो मौका गुमाउन पुगे ।
आधा घन्टाको खेल सकिएपछि नेदरल्यान्ड्सले कप्तान आर्जेन रोबेनलाई ग्रोइनको चोटका कारण गुमाउन पुग्यो । उनको स्थानमा लुसिएनो नरसिंहलाई खेलाइएको थियो । विपक्षी टिमका कोल्बेइन सिग्टहोरसनलाई फल गरेका कारण ब्रुनो मार्टिन्सले ३३ औं मिनेटमा रातो कार्ड पाएपछि नेदरल्यान्ड्सको पीडा झन् बल्झिएको थियो ।
स्वान्सीका मिडफिल्डर सिगुरसनले गोल गरेपछि आइसल्यान्ड थप दबाबमा परेको थियो । ग्रेगारी भान डेर विइलले बिरकिर जार्नासनलाई लडाएपश्चात् आइसल्यान्डले त्यो पेनाल्टी पाएको थियो ।
आयाक्सका पूर्वकप्तान ब्लिन्डले राष्ट्रिय टिममा नयाँ जीवन थप्ने बताएका थिए । तर सन् १९८८ को युरोपियन च्याम्पियन नेदरल्यान्ड्सको हातबाट खेल बाहिर निस्किरहेको छ र टिमलाई लयमा फर्कन निकै गाह्रो परिरहेको छ ।
नेदरल्यान्ड्सको अन्तिम झीनो आशा चेक हारिहाल्छ भन्नेमा छ । चेकले बिहीबार राति कजाकस्तानलाई २–१ ले पराजित गर्यो । मिलान स्कोबाले ७४ र ८६ औं मिनेटमा गरेको गोलमा चेकले युरोमा छनोट हुने सम्भावनालाई नजिक बनायो । नेदरल्यान्ड्सले झीनो आशा जीवित राख्नका लागि आइतबार टर्कीमा जित हात पार्नैपर्छ । टर्कीलाई मध्यम टिम लात्भियाले १–१ को बराबरीमा रोकिदियो । टर्की ९ अंकसहित चौथो स्थानमा छ । चेकले लात्भियासँग अर्को खेल खेल्नेछ ।
समूह ‘बी’ मा वेल्सले पनि युरोमा छनोट हुने सम्भावना बलियो बनाएको छ । गारेथ बेलले अन्तिम समयमा गरेको गोलमा वेल्सले साइप्रसमाथि १–० को जित हात पार्यो । यस जितले वेल्स ५८ वर्षपछि पहिलो प्रमुख प्रतियोगिता खेल्ने क्रममा पुगेको छ ।
निकोसियामा खेल समाप्त हुन ८ मिनेट अगाडि रियल म्याड्रिडका स्टार बेलले शक्तिशाली हेडमा गोल गरेका थिए । आइतबार कार्डिफमा इजरायलमाथि विजयी हासिल गरेमा वेल्स युरोका लागि छनोट हुनेछ । सन् १९५८ को विश्वकप वेल्सले खेलेको पछिल्लो प्रमुख प्रतियोगिता हो । उक्त प्रतियोगितामा छनोट हुने क्रममा वेल्सले अन्तिम खेलमा इजरायललाई नै कार्डिफमा पराजित गरेको थियो ।
समूह ‘बी’ मा वेल्सको १७ अंक छ । टिम बेल्जियमभन्दा ३ अंकले अगाडि छ । बेल्जियमले घरेलु मैदानमा बोस्निया–हर्जगोभिनालाई ३–१ ले पराजित गर्यो । इजरायल १२ अंकसहित तेस्रो स्थानमा छ । युरोमा पहिलोपटक छनोट हुने प्रयासमा रहेको इजरायलले अन्डोरालाई ४–० ले पराजित गर्यो ।
समूह ‘एच’ मा अजरबैजानले क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको फाइदा इटालीले उठायो ।
साउथह्याम्टनका स्ट्राइकर ग्राजिएनो पेलेले ६९ औं मिनेटमा गरेको गोलमा इटालीले माल्टालाई १–० ले पराजित गर्यो । इटालीले आइतबार बुल्गेरियाको आतिथ्यता गर्नेछ र त्यो खेलले इटालीलाई युरोमा पुर्याउन पनि सक्नेछ ।
भुटानलाई १६ गोल
विश्वकप छनोटको एसिया क्षेत्रको खेलमा कतारले भुटानलाई १६–० ले पराजित गरेको छ । अप्रत्याशित रूपमा दोस्रो चरणमा प्रवेश गरेको भुटानले ३ खेलमा २८ गोल खर्च गरिसकेको छ । समूह ‘सी’ मा चीन र हङकङबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । हङकङ ७ अंकसहित शीर्षस्थानमा छ । तर दुवै खेल जितेको कतारले १ खेल कम खेलेको छ ।
विश्वकप छनोटको एसिया क्षेत्रको खेलमा कतारले भुटानलाई १६–० ले पराजित गरेको छ । अप्रत्याशित रूपमा दोस्रो चरणमा प्रवेश गरेको भुटानले ३ खेलमा २८ गोल खर्च गरिसकेको छ । समूह ‘सी’ मा चीन र हङकङबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । हङकङ ७ अंकसहित शीर्षस्थानमा छ । तर दुवै खेल जितेको कतारले १ खेल कम खेलेको छ ।
समूह ‘बी’ मा अस्ट्रेलियाले बंगलादेशलाई ५–० ले पराजित गर्यो । समूह ‘ए’ मा यूएईले मलेसियालाई १०–० ले र साउदी अरेबियाले टिमोर लेस्टेलाई ७–० ले पराजित गरे ।
त्यस्तै समूह ‘डी’ मा इरानले ग्वामलाई ६–० ले, ओमानले तुर्कमेनिस्तानलाई ३–१ ले, समूह ‘इ’ मा जापानले कम्बोडियालाई ३–० ले, सिरियाले सिंगापुरलाई १–० ले, समूह ‘एफ’ मा इराकले ताइवानलाई ५–१ ले, समूह ‘जी’ मा दक्षिण कोरियाले लाओसलाई ८–० ले, कुवेतले म्यानमारलाई ९–० ले र समूह ‘एच’ मा उज्वेकिस्तानले यमनलाई र उत्तर कोरियाले बहराइनलाई १–० को समान अन्तरले पराजित गरे ।

