१७ भदौ- युरोपेली खेलाडी स्थानान्तरणको अर्को मिति सकिएको छ र फेरि एकपल्ट मंगलबार राति हतारमा केही ठूला किनबेच भए। तर यो स्थानान्तरणको सब...
१७ भदौ- युरोपेली खेलाडी स्थानान्तरणको अर्को मिति सकिएको छ र फेरि एकपल्ट मंगलबार राति हतारमा केही ठूला किनबेच भए। तर यो स्थानान्तरणको सबैभन्दा मुख्य पक्ष रह्यो, इङलिस प्रिमियर लिग क्लबको वर्चस्व र त्यसमा पनि म्यानचेस्टर सिटी सबैभन्दा अगाडि रहनु। युरोपका अरू प्रमुख फुटबल देशमा अन्तिम मिति सोमबारसम्म मात्र थियो।
तर इङलिस टिमसामु थप एक दिनको अवसर हुने गर्छ। त्यसमा सिटीलाई उसको छिमेकी म्यानचेस्टर युनाइटेडले बलियो टक्कर दिने काम पनि गरेको थियो। प्रिमियर लिग क्लबले यसपल्ट मात्र ८६ करोड पाउन्ड खर्च गरेको थियो। यसमध्ये युनाइटेडले मोनाकोका एन्थोनी मार्टियलका लागि मात्र तीन करोड ६० लाख पाउन्ड तिर्न तयार भयो।
यसपल्टको लिगमा लगातार चार खेल जितेको सिटीले १५ करोड पाउन्ड स्थानान्तरणमा खर्चने काम गर्यो। जसमध्ये उसले उल्फबर्गबाट केभिन डे ब्रुयेन र लिभरपुलबाट रहिम स्टर्लिङ भित्र्याएको छ। युनाइटेडले भने १९ वर्षीय फ्रान्सेली फरवार्ड मार्टियलका लागि कीर्तिमान रकम तिरेको हो। यसअघि उसले बास्टिन स्वाइन्सटाइगरलाई पनि ओल्ड ट्रायफोर्ड भित्र्याएको थियो।
लिभरपुल पनि धेरै पछाडि रहेन र उसले पनि आठ करोड पाउन्ड खर्च गर्यो। ईपीएलको टेलिभिजन प्रसारणको माग बढ्यो र त्यसका लागि अत्यधिक आकर्षक रकम मिल्न सुरु भएपछि यसका क्लब आर्थिक रूपमा बलिया भएका छन् र यसको छनक स्थानान्तरणमा पनि देखिएको हो। यसपल्टका सात ठूला स्थानान्तरणमध्ये एक मात्र ईपीएल बाहिरको रह्यो।
यसमा कतारी लगानी रहेको पीएसजीले अर्जेन्टिनी विन्गर एन्जेल डि मारियालाई किन्न छ करोड ३० लाख पाउन्ड खर्च गरेको हो। अपेक्षाअनुसार युरोपका अरू धनी क्लब यो स्थानान्तरणमा चुपचाप रहे। स्पेनका बार्सिलोना र रियल म्याड्रिडले खर्च गर्न चाहेनन्।
यस्तै स्थिति इटालीको सिरी ‘ए’ र जर्मनीको बायर्न म्युनिखको पनि रह्यो।

