२८ भदौ, बिसकेक, किर्गिस्तान -एएफसी यु १६ छनोट चरणमा सहभागिता जनाउने नेपाली टोली सोमबार किर्गिस्तानको बिस्केक आइपुगेको छ । १४ घन्टा लामो...
२८ भदौ, बिसकेक, किर्गिस्तान -एएफसी यु १६ छनोट चरणमा सहभागिता जनाउने नेपाली टोली सोमबार किर्गिस्तानको बिस्केक आइपुगेको छ । १४ घन्टा लामो हवाइयात्रापछि झन्डै २५ घन्टा लगाएर काठमाडौंबाट नेपाली यु १६ टोली पूर्व सोभियत युनियनको भुमिमा आइपुगेको हो ।
एएफसी यु १६ को समूह बीमा रहेको नेपालले आयोजक किर्गिस्तान, जोर्डन र ओमानसँग खेल्ने छ । प्रतियोगितामा कुल १० समूह छन् ।
सबै समूहका विजेता अर्को वर्ष भारतमा हुने एएफसी यु १७ च्याम्पियनसिपमा सोझै छनोट हुनेछन् । त्यस्तै शीर्ष चार विजेता पनि च्याम्पियनसिपमा पुग्ने छन् । भारत आयोजकको हिसाबमै सोझै छनोट भइसकेको छ । तर टोलीले छनोट चरण खेल्ने छ ।
लामो यात्राबाट आएको नेपालले सोमबार केही समय अभ्यासमा बिताएको थियो । नेपाली खेलाडीले सोमबार रनिङ, स्ट्रेचिङ र सुटिङमा मात्र केन्द्रित भएको थियो । खेलाडीहरु धेरै थाकेकाले सामन्यमात्र अभ्यास गरिएको प्रशिक्षक उपेन्द्रमान सिंहले बताए ।
बिसकेकको चिसो हावामा नेपाली टोलीले किर्गिस्तान फुटबल संघको टेक्निकल सेन्टरको घाँसे मैदानमा अभ्यास गरेको थियो । बंगलादेशमा गत महिना साफ यु १६ च्याम्पियनसिपमा सहभागिता जनाएयता नेपालले घरेलु मैदानमा सातदोबाटोको आर्टिफिसियल टर्फमा मात्र अभ्यास गर्दै आएको थियो । नेपालले यहाँ घाँसे मैदानमा छनोट चरणको खेल खेल्नु पर्नेछ ।
नेपालले बुधबार जोर्डनसँग पहिलो खेल खेल्दै छ । सोमबार एउटै मैदानमा अभ्यास गर्नेक्रममा नेपालले केही समय जोर्डन र ओमानको अभ्यास पनि हेरेको थियो । प्रशिक्षक सिंहले जोर्डनका केही खेलाडी छरितो र सुटिङ पावर राम्रो देखिएको बताए । उनले मंगलबार फुल अभ्यास गरेसँगै नेपाली टोली लयमा आउने बताए ।
अर्का प्रशिक्षक राजेश मानन्धरले लामो यात्राका बाबजुद खेलाडीहरु प्रशिक्षणमा निकै जोशिलो देखिनु सकरात्मक पक्ष भएको जनाए । समूह विजेता भएर नै च्याम्पियनसिपमा छनोट हुनु नेपाली टोलीको लक्ष्य भएको उनले स्पष्ट पारे । नेपाली टोलीका डाक्टर राजु डंगोलले सबै खेलाडी फिट भएको बताए।
छनोट चरण पार गर्दै नेपालले तीनपटक च्याम्पियनसिप खेलिसकेको छ । तर यसअघि पार गरेका छनोट चरण नेपालले सबै घरेलु मैदानमा खेलेको थियो । त्यसैले वर्तमान टोलीसँग विदेशी भुमिबाट पहिलोपटक छनोट चरण पार गराउनु पर्ने जिम्मेवारी छ ।

