२४ भदौ, एएफपी न्युयोर्क - विश्व नम्बर १ खेलाडी सेरेना विलियम्स सन् १९९८ यता पहिलोपल्ट क्यालेन्डर स्लामको उपलब्धि अझ नजिक पुगेकी छन्। उनल...
२४ भदौ, एएफपी न्युयोर्क - विश्व नम्बर १ खेलाडी सेरेना विलियम्स सन् १९९८ यता पहिलोपल्ट क्यालेन्डर स्लामको उपलब्धि अझ नजिक पुगेकी छन्। उनले मंगलबार आफ्नी ठूली दिदी भेनस विलियम्सलाई ६–२, १–६ र ६–३ ले हराएर यूएस ओपनको सेमिफाइनल यात्रा तय गरिन्। तीनपल्टकी डिफेन्डिङ च्याम्पियन सेरेनाले अब अन्तिम चारमा रोबेर्टा भिन्चीको सामना गर्नेछिन्।
इटालीकी ४३ औं वरीयताप्राप्त भिन्चीले भने फ्रान्सकी ४० औं वरीयताप्राप्त क्रिस्टिना माडेनोभिचको चुनौती ६–३, ५–७ र ६–४ ले समाप्त पारिन्। चारै ग्रान्डस्लाम उपाधिको डिफेन्डिङ च्याम्पियन रहेकी सेरेनाले यसपल्ट पनि यूएस ओपन जित्न सके, २७ वर्षयता पहिलोपल्ट क्यालेन्डर स्लाम पूरा गर्नेछिन्। अन्तिम पटक स्टेफी ग्राफले यस्तो उपलब्धि हात पारेकी थिइन्।
यस्तै सेरेनाले ग्राफको नाममा रहेको २२ ग्रान्डस्लाम उपाधिको उपलब्धि पनि बराबर गर्न सक्नेछिन्। यस्तो गर्न सके उनी समग्रमा सबैभन्दा बढी ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको उपलब्धिबाट दुई उपाधि टाढा रहनेछिन्। आर्थर एस स्टेडियममा रहेका २३ हजारभन्दा बढी दर्शक अगाडि दुवै विलियम्स दिदीबहिनीले माथिल्लो दर्जाको टेनिस खेले।
‘आजको खेल भेनस र मेरा लागि ठूलो अवसर हो,’ सेरेनाले भनिन्, ‘आजको खेल उत्तिकै प्रतिस्पर्धात्मक पनि रह्यो। हामी दुवै अब्बल दर्जाको टेनिस खेल्न प्रेरित थियौं।’ सेरेनाले उत्कृष्ट सुरुआत लिएर पनि दोस्रो सेटमा त्यसलाई कायम राख्न सकेकी थिइनन्।
यस्तोमा अप्रत्याशित नतिजाको सम्भावना पनि बढेको थियो। तर सेरेना अन्तत: आफ्नी दिदीमाथि निर्णायक सेटमा हाबी रहिन्।
पुरुषतर्फ शीर्ष वरीयताका खेलाडी नोभाक जोकोभिचले पनि सेमिफाइनल यात्रा तय गरेका छन्। अब उनले प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन मारिन सिलिचको सामना गर्नेछन्। जोकोभिचले अन्तिम आठको खेलमा स्पेनका १८ औं वरीयताप्राप्त फेलिसिनो लोपेजलाई रातको खेलमा ६–१, ३–६, ६–३ र ७–६ (७/२) ले पराजित गरे। सर्बियाली खेलाडीको जित निश्चित हुँदा रातको एक बजिसकेको थियो।
‘मैले अपेक्षा गरे जस्तै खेल सजिलो रहेन। लोपेज कठिन प्रतिद्वन्द्वी हुन्,’ २८ वर्षीय जोकोभिचले भने। सिलिचले भने फ्रान्सका जो विल्फ्रेड सोङगालाई चार घन्टा चलेको म्याराथन खेलमा ६–४, ६–४, ३–६, ६–७ (३/७) र ६–४ ले हराए। फ्रान्सेली खेलाडीमाथि छ खेलमा सिलिचको यो पाँचौं जित हो। दुवै खेलाडीले ३५ डिग्रीमा खेल खेलेका थिए।
‘आजको खेल उत्तिकै प्रतिस्पर्धात्मक पनि रह्यो। हामी दुवै अब्बल दर्जाको टेनिस खेल्न प्रेरित थियौं।’
भिडियो

