२४ भदौ, काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन्...
२४ भदौ, काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विकासका लागि बोल्दा राजनीति गरेको नभन्न आग्रह गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च चितवनले बिहीबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै कप्तान खड्काले क्रिकेटका लागि बोल्दा राजनीति गर्यो भन्दा आफूलाई केही फरक नपर्ने बताए ।
‘मेरो काम क्रिकेट खेल्नु हो, त्यसैले यसको विकास चाहन्छु,’ उनले भने ‘क्रिकेट विकासका लागि बोल्दा राजनीति गरिस् भन्नुहुन्छ भने म सधैं राजनीति गरिरहन्छु । तर यो राजनीति होइन, राष्ट्रिय हितका लागि बोलेको हुँ ।’ घरेलु संरचनाको विकास नगरेसम्म नेपाली क्रिकेटको स्तर माथि उठ्न नसक्ने उनले बताए ।
अहिलेको संरचनाले क्रिकेट खेल अगाडि नबढ्ने ठोकुवा समेत उनले गरे । अहिलेको स्थितिले ४/५ वर्ष अझ धान्न सकिन्छ । १० वर्षपछि के गर्ने भन्ने कसैले नसोचेको उनले बताए ।
बैलेमा ध्यान दिएनौं भने भोलि गएर एकादेशमा नेपालले क्रिकेट खेल्थ्यो रे भन्ने कथा सुन्नु पर्ने स्थिति आउने उनले बताए । ‘एकपटक विश्वकप खेल्यौं भन्दैमा सबै खुसी भइरहेको अवस्था छ,’ कप्तान खड्काले भने,‘तर कसरी विश्वकपमा नेपाली टिम सहभागिता जनायो ?, नेपाली खेलाडीको अवस्था के छ ? त्यसप्रति कसैको चासो छैन् ।’
सरकारले समयमै खेलाडीको भविष्यप्रति चासो लिनुपर्नेमा उनले जोड दिए । अहिले खेलाडीहरुले आफ्नो भविष्यप्रति चिन्ता गर्ने गरेको उनले बताए ।
‘विश्वकप त खेल्यौं तर हाम्रो भविष्य नै अन्यौलमा छ,’ उनले भने, ‘मलाई सोध्नुहुन्छ भने मलाई पनि थाहा छैन कि क्रिकेट टिमबाट निस्किए पछि के गर्ने ?’ टिमबाट बाहिरिएपछि कहाँ जाने चिन्ताले खेलाडीलाई सताउन थालेको उनले बताए ।
उनी शैक्षिक मेलामा सहभागी हुन चितवन आइपुगेका हुन् । पत्रकार सम्मेलन खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

