२६ भदौ, एएफपी लन्डन - एउटा तथ्य तय छ, इङलिस प्रिमियर लिगको अंक तालिका अहिले जस्तो छ, अन्त्यसम्म त्यस्तै रहने छैन । तर एउटा अर्को तथ्य पन...
२६ भदौ, एएफपी लन्डन - एउटा तथ्य तय छ, इङलिस प्रिमियर लिगको अंक तालिका अहिले जस्तो छ, अन्त्यसम्म त्यस्तै रहने छैन । तर एउटा अर्को तथ्य पनि निश्चित छ, म्यानचेस्टर सिटीलाई सन् २०१५/१६ को सिजनमा हराउन सजिलो हुने छैन । सिटीले अहिलेसम्म खेलेका सबै चार खेल जितेको मात्र छैन, स्काई ब्लु टिमले दस गोल गरेको छ र उल्टोमा एक गोल पनि खाएको छैन ।
म्यानचेस्टर सिटी मज्जाले अगाडि बढिरहेको छ । तर यो साता भने उसका खास–खास प्रतिद्वन्द्वीका लागि आफ्नो स्थिति सम्हाल्ने हुनेछ । अन्तर्राष्ट्रिय ड्युटी पूरा गरेयता खेलाडी फेरि आ–आफ्नो क्लबका लागि खेल्न फर्केका छन् र यो सप्ताहन्त त्यस्ता पाँच खेल हुनेछन्, जसले लिगको भविष्यको दिशा तय गर्न धेरै हदसम्म निर्णय गर्नेछ ।
सबैभन्दा ठूलो खेल
इङलिस प्रिमियर लिगको अंक तालिकामा यी दुई जुनसुकै स्थानमा होऊन्, तर जतिबेला म्यानचेस्टर युनाइटेड र लिभरपुल भिड्नुपर्छ, यो खेल आफैमा ठूलो हुन्छ । म्यानचेस्टरले जत्तिको लिग इङलिस फुटबलमा कसैले जितेको छैन, २० पल्ट । त्यसको ठीक पछाडि लिभरपुल छ, १८ लिग उपाधिसँगै । यसपल्ट दुवै टिमले चार खेलबाट समान सात अंक बटुलेका छन् ।
दुवैका लागि यो खेल उत्तिकै महत्त्वको छ । लिभरपुलको अहिलेको सबैभन्दा ठूलो समस्या हो, गोलको खडेरी । ब्रेन्डन रोजर्सको टिमले यो सिजन दुई गोल गरेको छ । म्यानचेस्टरले भने तीन गोल गरेको छ र यो मात्र कहाँ राम्रो हो र ? आफ्नो प्रिय अथवा भनौं अप्रिय प्रतिद्वन्द्वीमाथि प्राप्त हुने जितले त्यो गोलको खडेरीलाई भुलाउने निश्चित छ ।
उत्तरी लन्डनमा समस्या
स्पष्ट हुनु जरुरी छ, प्रसंग टोटेनहमलाई लिएर हो । त्यसो त आर्सनलले पनि राम्रो सुरुआत लिन सकेको छैन । तर उत्तरी लन्डनमा कुनै एक टिम खासै समस्यामा छ भने त्यो स्पर्श हो । चार खेलमा तीन अंक । टोटेनहमले विपक्षी टिमलाई गोल गर्ने अवसर त दिएको छैन, तर चार खेलमध्ये तीनमा खालि बराबरी मात्र खेलेको छ । गत सिजन गजब खेलेका ह्यारी किन यसपल्ट औसत छन् ।
ह्यारीले ढिलो चाँडो आफ्नो लय प्राप्त गर्ने प्रयास गर्नेछन्, तर कसैलाई टोटेनहम १६ औं स्थानमा रहेको चित्त बुझिरहेको छैन । टोटेनहमका लागि खुसीको खबर के छ भने यसपल्ट उसले त्यस्तो टिमविरुद्ध खेल्न लागेको छ, जसको प्रदर्शन वास्तवमै कमजोर छ र त्यो हो, सन्डरल्यान्ड । यो टिम वास्तवमै धेरै कमजोर छ र टोटेनहमले उसको यो स्थितिबाट फाइदा उठाउनु नै पर्नेछ ।
चेल्सी के गर्नेछ ?
चेल्सीको समर्थक होइन भने कसैलाई पनि व्यवस्थापक जोसे मोउरिन्होको टिमले राम्रो खेल्न सक्दैन भने त्यो खुसीको विषय हुने गर्छ । मोउरिन्होको तनाव र पीडा, अनि चेल्सी क्रिस्टल प्यालेसको हातबाट पराजित हुन्छ भने चेल्सी विरोधी सबै खुसी नै हुन्छन् । यस सप्ताहन्त एभरटनको सामना गर्ने चेल्सी अहिले १३ औं स्थानमा छ र यो डिफेन्डिङ च्याम्पियनका लागि वास्तवमै कमजोर स्थिति हो ।
खासमा चेल्सी टिममा केही न केही मिलिरहेको छैन, यो निश्चित छ । चार खेलबाट चेल्सीको चार अंक ? यदि टिममा गत सिजनको नायक एडन हेजार्ड, सेस फाब्रिगास र डिएगो कोस्टा मात्र होइन, अब पेड्रो जस्ता खेलाडी छन् भने यो त असह्य यात्रा हो । सायद चेल्सीको सबैभन्दा ठूलो समस्या डिफेन्स हो । एभरटनले त्यही डिफेन्सलाई तोड्न सक्यो भने ? चेल्सीले के गर्नेछ ? कल्पना मात्र गरौं ।
क्रिस्टल क्लियर
सबैले यसपल्ट लिग अंक तालिकाको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको चर्चा गरिरहेका छन् । तर सबैले यो पनि बिर्सेका छैनन्, यसपल्ट सबैभन्दा आश्चर्यजनक टिम रहेको छ भने त्यो हो, क्रिस्टल प्यालेस । यो तथ्य क्रिस्टल क्लियर छ । विश्वास गर्न गाह्रो छ, इङलिस प्रिमियर लिगमा प्यालेस अहिले दोस्रो स्थानमा छ, ठीक सिटीको पछाडि ।
संयोगले यसै साता प्यालेसले सिटीको आतिथ्य गर्नेछ । एलान पाड्रयुले व्यवस्थापक सम्हालेयता क्रिस्टल प्यालेसले गजब खेलिरहेको छ । टिममा व्यापक सुधार पनि आएको छ । यसले चेल्सीले हराएको छ, एस्टन भिल्ला र नरविचलाई । खालि आर्सनलविरुद्धको खेलमा उसलाई भाग्यले साथ दिएन । यस्तोमा क्रिस्टल प्यालेसले सिटीलाई हरायो भने ? कोही आश्चर्यमा नपरे हुन्छ ।
दुई पुराना शत्रु
आर्सनल र स्टोक सिटी पनि दुई पुराना शत्रु हुन्, भलै यी टिम भिड्दा पहिलेको जस्तो तनाव देखिन्न । तर अहिले पनि यी दुई टिम खेल्दा फुटबल मात्र नरहेर शारीरिक द्वन्द्व हुने गर्छ । अहिले स्टोक केही सिजन अगाडि जस्तो हराउन सजिलो टिम रहेको छैन । स्टोकका समर्थक वास्तवमै आर्सनल विरोधी हुन्, त्यसैले आर्सनललाई हराउन सके स्टोकको खुसीको सीमा हुने छैन ।

