२० भदौ, एएफपी, न्युयोर्क - राफेल नाडल एक दशकपछि शुक्रबार यूएस ओपनबाट छिट्टै बाहिरिएका छन्। उनले दुई सेटले अग्रता लिएको स्थितिमा हा...
२० भदौ, एएफपी, न्युयोर्क - राफेल नाडल एक दशकपछि शुक्रबार यूएस ओपनबाट छिट्टै बाहिरिएका छन्।
उनले दुई सेटले अग्रता लिएको स्थितिमा हार बेहोरे। उता सेरेना विलियम्सले भने ग्रान्डस्लाम यात्रालाई कायमै राखिन्।
सन् २०१० र २०१३ को यूएस ओपनसहित १४ स्लाम उपाधि जितेका आठौं वरीयताका स्पेनी खेलाडी नाडललाई ३२ औं वरीयताका इटालियन खेलाडी फाबिओ फोग्निनीले ३–६, ४–६, ६–४, ६–३ र ६–४ ले पराजित गरे।
नाडल धेरैपछि न्युयोर्क हार्डकोर्टमा छिट्टै बाहिरिएका हुन्। उनी सन् २००५ मा तेस्रो चरणमा अमेरिकी खेलाडी जेम्स ब्ल्याकसँग पराजित भएका थिए। २९ वर्षीय बायाँ हाते खेलाडी नाडलले स्लाम म्याचमा दुई सेटले अग्रता लिएको स्थितिमा १५१–० को प्रदर्शन गरेका थिए।
‘उनले धेरै राम्रो खेले,’ नाडलले भने, ‘यसमा मैले हारेको भन्दा पनि उनले जितेका हुन्। यो नतिजाबाट म खुसी नभएपछि उनी राम्रो भएको स्वीकार्नु पर्छ। मैले खराब खेलेकै हो। अन्तिम अंकसम्म मैले प्रतिस्पर्धा गरें। यो पर्याप्त भने थिएन।’
फोग्निनीले लगातार सातपल्ट सर्भिस ब्रेक गरेका थिए। ‘मैले कसरी खेलें बयान गर्न सक्दिनँ,’ फोग्निनीले भने,‘राफललाई दुई सेटले पछाडि परेको स्थितिमा हराउनु साँच्चिकै कठिन थियो। यो अविस्मरणीय खेल रह्यो।’
जितसँगै ३२ वर्षीय फोग्निनीले अन्तिम १६ मा स्थान बनाए। त्यसमा उनले १८ औं वरीयताका स्पेनी खेलाडी फिलिसियानो लोपेजको सामना गर्नेछन्। लोपेजले १० औं वरीयताका मिलोस राओनिकलाई ६–२, ७–६ र ६–३ ले पराजित गरे।
यस वर्षको सुरुआतमा नाडलले फोग्निनीलाई रियो दि जेनेरियोको क्लेमा र बार्सिलोनामा हराएका थिए। त्यसपछि जुलाईमा ह्याम्बर्ग फाइनलमा पनि पराजित गरेका थिए। शीर्ष १० वरीयताका खेलाडीविरुद्ध १८ औंपल्टको प्रयासमा फोग्निनीको यो पहिलो जित हो। उनी सन् २००५ मा डेभिड सानगुइनेटीपछि यूएस ओपनको अन्तिम १६ मा पुग्ने पहिलो इटालियन खेलाडी पनि बने।
महिला विश्व नम्बर एक खेलाडी सरेनाले पनि जितका लागि संघर्ष गरिन्। उनले १०१ औं वरीयताकी अमेरिकी खेलाडी बेथानी माटेकलाई ३–६, ७–५ र ६–० ले हराइन्।
शीर्ष वरीयताका नोभाक जोकोभिचले पनि जित निकाले।
१० औं ग्रान्डस्लाम जित्ने अभियानमा रहेका जोकोभिचले इटालीका आन्द्रेस सिप्पीलाई ६–३, ७–५ र ७–५ ले पराजित गरे। ‘तीनै सेटमा कठिन भयो,’ जोकोभिचले भने,‘अवसरका लागि पर्खिरहेपछि त्यसलाई सदुपयोग गर्न सक्नुपर्छ।’ उनले अन्तिम १६ मा स्पेनी २३ औं वरीयताका खेलाडी रोबर्टो बाउटिस्टाको सामना गर्नेछन्।
बाउटिस्टाले १४ औं वरीयताका बेल्जियमका खेलाडी डेभिड गोफिनले बीचमै खेल परित्याग गरेपछि जित आत्मसात् गरे। बाउटिस्टा ६–२, ७–५, ३–६ र १–३ ले अगाडि थिए। एउटा ग्रान्डस्लाममा यो पल्ट कीर्तिमानी १३ खेलाडी रिटायर्ड भए।
जो–बिल्फ्राइड सोङगा पनि अन्तिम १६ मा पुगे। फ्रान्सका उनले सर्गिय ताखोभ्सेलाई ६–३, ७–५ र ६–२ ले पराजित गरे। फ्रान्सका बेनोइट पेरिले स्पेनका टोमी रोब्रेडोलाई ७–६, ६–१ र ६–१ ले पाखा लगाए।
क्रोएसियाका मारिन सिलिस पनि अघिल्लो चरणमा प्रवेश गरे। नवौं वरीयताका सिलिसले मिखाइल कुकुसिनलाई ६–७, ७–६, ६–३, ६–७ र ६–१ ले पराजित गरे। सेरेनासँगै भेनस विलियम्स पनि चौथो चरणमा पुगिन्। उनले बिलिन्दा बेनसिसलाई ६–३ र ६–४ ले पराजित गरिन्।

