३० भदौ, काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले नवौं साफ च्याम्पियनसिपको समूह चरणमै आयोजक भारतको सामना गर्नुपर्ने भएको छ । नयाँ ...
३० भदौ, काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले नवौं साफ च्याम्पियनसिपको समूह चरणमै आयोजक भारतको सामना गर्नुपर्ने भएको छ ।
नयाँ दिल्लीमा बुधबार भएको ‘ड्र’अनुसार नेपाल समूह ‘ए’मा परेको छ । यसमा नेपालसँगै सर्बाधिक चारपल्टको विजेता भारत, श्रीलंका र पाकिस्तान छन् । डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, भुटान र र बंगलादेश समूह ‘बी’मा छन् । नवौं साफ केरलास्थित त्रिवेन्द्रममा २३ डिसेम्बर, २०१५ देखि ३ जनवरी, २०१६ सम्म हुनेछ ।
सन् १९९७ मा काठमाडौंबाट सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल कहिल्यै फाइनल पुगेको छैन । तीनपल्ट सेमिफाइनलमा रोकिएको नेपालको लागि यसपल्टको ‘ड्र’लाई तुलनात्मक रुपमा केही सजिलो मानिएको छ । हुन त नेपाल फिफा वरीयतामा दक्षिण एसियाकै सबभन्दा तल १८५ औं स्थानमा भएको टिम हो । तैपनि नेपालले सँधै साफ च्याम्पियन बन्ने लक्ष्य राख्दै आएको छ । उही योजनालाई फेरि अगाडि बढाउन बेल्जियमका प्रशिक्षक प्याट्रिक ओसेम्सलाई दुई साताअघि मात्र ल्याइएको छ ।


