१८ भदौ, काठमाडौं - एभिएमकी दीक्षा तामाङ र ज्ञालेक्सीका उपेन पराजुली दशौं हरेराम जोशी स्मृति खुल्ला टेबल टेनिसको उपाधि जित्न सफल भएका छन...
१८ भदौ, काठमाडौं - एभिएमकी दीक्षा तामाङ र ज्ञालेक्सीका उपेन पराजुली दशौं हरेराम जोशी स्मृति खुल्ला टेबल टेनिसको उपाधि जित्न सफल भएका छन् ।
छात्रा १६ वर्षमुनिको प्रतिस्पर्धामा दीक्षाले सिसीआरसीकी सोनु थापामगरलाई ११–६, ११–५ र ११–९ को सोझो सेटमा पराजित गर्दै स्वर्णपदक जितेकी हुन् ।
सोही स्पर्धाको छात्रतर्फ प्राइम कलेजका स्यान्टु श्रेष्ठ र एभिएमका रितिज जोशी फाइनलमा भिड्ने भएका छन् । स्यान्टुले एभिएमका सुधाकर खत्रीलाई तथा रितिजले एभिएमकै विजय तामाङलाई पराजित गर्दै फाइनलमा ठाउँ बनाएका हुन् ।
दुईदिने प्रतियोगिताको १२ वर्षमुनिको छात्रतर्फको प्रतिस्पर्धामा ज्ञालेक्सी पब्लिक स्कुलका उपेन पराजुलीले एभिएमका सन्जोग कपालीलाई ११–४, ११–८ र ११–९ ले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाए ।
प्रिज्मा इंग्लिस बोर्डिङ स्कुलका मदन तामाङ र एभरेस्ट इंग्लिस स्कुलका विश्वप मधुकर्मी तेस्रो स्थान प्राप्त गर्न सफल भए ।
सोही स्पर्धाको छात्रातर्फ प्रभात इंग्लिस स्कुल भक्तपुरकी अञ्जु सुवाल र विजेश्वरीकी दुर्गा राजभण्डारी फाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगितामा झन्डै तीन सय खेलाडी सहभागी छन् ।

