१७ भदौ, एएफपी, न्युयोर्क- पाँचपल्टका विजेता रोजर फेडेररले मंगलबार प्रचण्ड गर्मीबीच यूएस ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन्। तर सबै ...
१७ भदौ, एएफपी, न्युयोर्क- पाँचपल्टका विजेता रोजर फेडेररले मंगलबार प्रचण्ड गर्मीबीच यूएस ओपनको दोस्रो चरणको यात्रा तय गरेका छन्। तर सबै उत्तिकै भाग्यमानी रहेनन् र नौ खेलाडीले असहज स्थितिमा प्रतियोगिता छाड्न बाध्य भएका छन्। दोस्रो वरीयताका फेडेररलाई भने खासै त्यस्तो समस्या भएन र उनले अर्जेन्टिनाका लागि लियोनार्डो मेयरलाई ६–१, ६–२ र ६–२ ले हराए।
आर्थर ऐस स्टेडियममा यो जितका लागि फेडेररलाई ७७ मिनेट मात्र चाहिएको थियो। स्विस ३४ वर्षीय खेलाडी यूएस ओपनको पछिल्लो ४५ वर्षको इतिहासमा उपाधि जित्ने सर्वाधिक जेठो खेलाडी हुने अभियानमा छन्। अहिलेसम्म १७ ग्रान्ड स्लाम जितेका फेडेररले जितपछि भने, ‘अहिले म राम्रो महसुस गरिरहेको छु, हिजोसम्म मलाई केही डर थियो।’
दिनको अर्को महत्त्वपूर्ण खेलमा बेलायतका एन्डी मुरेले घरेलु खेलाडी निक क्रिगोसलाई ७–५, ६–३, ४–६ र ६–१ ले हराए। तेस्रो वरीयताका मुरेले तेस्रो सेट गुमाएयता आफ्नो अनुभव सदुपयोग गर्दै २० वर्षीय क्रिगोसलाई पराजित गरेका हुन्।
‘निकै गर्मीको स्थिति छ। यस्तोमा खेल्न सजिलो छैन। म पनि केही बुढो भइसकें, त्यसैले धेरै लामो समय कोर्टमा बिताउनु ठीक हुन्न,’ स्कटिस खेलाडीले भने। यस्तै जापानका १९ वर्षीय किशोर खेलाडी योसिहितो निसिकाले फ्रान्सका पल हेनरी म्याथ्युलाई ६–४, २–६, ६–७, ६–१ र ६–२ ले हराए।
अमेरिकी नम्बर १ खेलाडी जोन इस्नरले भने ट्युनिसियाका मालेक जाजरीको चुनौती ६–२, ६–३ र ६–४ ले पन्छाए। छैटौं वरीयताका चेक खेलाडी टोमस बेरडाचीले भने अमेरिकाकै ब्योर्न फ्रानाजेलोलाई ६–३, ६–२ र ६–४ ले पन्छाए।
महिलातर्फ शीर्ष वरीयताका खेलाडी सिमोन हेलेपले पूरा खेल बिना नै दोस्रो चरणको यात्रा तय गरेकी छिन्। सिमोन मार्टिना एराकोभिच विरुद्धको खेलमा ६–२ र ६–० ले अगाडि थिइन्। यसबीच एराकोभिचले खेल परित्याग गरिन्।
क्यारोलिन वाज्नेस्की भने जेमी लेबलाई ६–२ र ६–० ले पराजित गर्न सफल रहिन्। जितपछि वाज्नेस्कीले पनि मानिन्, खेल्नका लागि स्थिति सहज छैन।

