१९ भदौ, काठमाडौं - राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्ल्यू) काठमाडौं शुक्रबार सम्पन्न दोस्रो अरुण स्मृति महिला राष्ट्रव्यापी क्रिकेट प्रतिय...
१९ भदौ, काठमाडौं - राइजिङ क्रिकेट फर वुमेन (आरसीडब्ल्यू) काठमाडौं शुक्रबार सम्पन्न दोस्रो अरुण स्मृति महिला राष्ट्रव्यापी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । अघिल्लो संस्करणको विजेता लहान स्पोर्ट्स एकेडेमीलाई ३ विकेटले पराजित गर्दै राइजिङले मोफसलकै सर्वाधिक राशिको प्रतियोगिता जितेको हो ।
मिलन क्रिकेट क्लबको आयोजनामा झापाको काँकडभिट्टामा सञ्चालित प्रतियोगितामा राइजिङले जितसँगै १ लाख रुपैयाँ पायो । लहानले ५० हजारमा चित्त बुझायो । काँकडभिट्टा उच्चमाविको मैदानमा टस जितेर ब्याटिङ गरेको लहानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ४६ रन बनायो । राइजिङले ४७ रनको विजयी लक्ष्य ७ विकेट गुमाएर ५ ओभरको खेल बाँकी छँदै पूरा गर्यो ।
राइजिङकी सञ्जु चौधरीले सर्वाधिक १८ रन बनाइन् भने सरिता मगरले ७ रन जोडिन् । रीतु कनोजिया र इन्दु बर्मा १–१ रनमैआउट भए । लहानका सरस्वती, अञ्जु, सन्तोषी चौधरी र कविता गौतमले १/१ विकेट बाँडे ।
यसअघि लहानका लागि रोजी कठारीले सर्वाधिक १७ रन जोडिन् । अरूले रनको दोहोरो रन बनाउन सकेनन् । अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी इन्दु बर्माले ४ विकेट लिइन् । सामना पुनमगरले २ विकेट हात पारेकी थिइन् ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी राइजिङकी सरिता मगर चुनिइन् । उनले चार खेलमा ४७ रन बनाउनुका साथै ४ विकेट लिएकी थिइन् ।
उत्कृष्ट बलर इन्दु बर्मा र उत्कृष्ट ब्याट्सवुमेन मधु थापा घोषित भए ।

