३१ भदौ, काठमाडौं - नवयुग श्रेष्ठको ह्याट्रिकसँगै आर्मीले राष्ट्रिय लिगमा बिहीबार चिरपरिचित प्रतिद्वन्द्वी पुलिसमाथि ३–० को जित हात पारेक...
३१ भदौ, काठमाडौं - नवयुग श्रेष्ठको ह्याट्रिकसँगै आर्मीले राष्ट्रिय लिगमा बिहीबार चिरपरिचित प्रतिद्वन्द्वी पुलिसमाथि ३–० को जित हात पारेको छ ।
आर्मी राष्ट्रिय लिगमा एक्लो अपराजित टिम हो र तेस्रो जितसँगै उसले आठ खेलबाट १४ अंक जोड्यो । एक खेल कम खेलेको थ्रीस्टारको पनि १४ अंक छ । नौ खेल खेलेको झापा १७ अंकसहित शीर्ष स्थानमा छ । चौथो हार बेहोरेको पुलिस (८ अंक) सातौं स्थानमा छ ।
दुई विभागीय टिमको प्रतीष्ठाको मैदानी लडाइँमा आर्मी हावी रह्यो । पहिलो रोजाईका ५ खेलाडीलाई चोटका कराण गुमाएपछि संकटमा परेको पुलिसविरुद्ध नवयुगले १५ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले राजु तामाङको छोटो कर्नरमा हिरण्य मगरले गरेको क्रसलाई हेडद्वारा पोष्टको दिशा दिदै आर्मीलाई अघि बढाएका थिए ।
प्रशिक्षक मेघराज केसीले आक्रमक मिडफिल्डबाट अघि बढाएर फरवार्डको भूमिका दिइएका नवयुगले ६५ औं मिनेटमा दोस्रो गोल गरे । उनले चार मिनेटको इन्ज्युरी टाइमको अन्तिम क्षणमा ह्याट्रिक पूरा गरे । त्यसमा उनले सन्तोष तामाङको पास उपयोग गर्दै गोल गरेका थिए ।
ह्याट्रिककर्ता आर्मीका नवयुग श्रेष्ठ
नवयुग राष्ट्रिय लिगमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी हुन् । यसअघि झापाका कर्ण लिम्बु र सुदूरपश्चिमका सेडरिक अबाले ह्याट्रिक गरेका थिए । लिगको सर्बाधिक गोलकर्ताको सूचिमा कर्ण ७ गोलसहित सबभन्दा अगाडि छन् । नवयुग र सेडरिकले ५–५ गोल गरेका छन् ।
घरेलु फुटबलको सर्वाधिक लोकप्रिय दुई ठूला क्लब मनाङमस्र्ङ्दी र थ्रीस्टार शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भिड्नेछन् ।


